मौसम चिसो छ, यो बर्षको मंसिर महिनाले हामी माझबाट बिदा लिइसकेको छ । सँगसँगै यो जाडोले आफ्नो रफ्तारलाई झन तिखार्दै छ । दशैं र तिहार सक्किए लगतै हामी विभिन्न नयाँ गन्तव्य घुम्न निस्कन्छौँ । त्यो क्रम अहिले सम्म पनि जारी छ । विभिन्न विद्यालयहरुले शैक्षिक भ्रमणको आयोजना गर्ने समय पनि यही हो । र, आफ्ना सदस्यहरुलाई विभिन्न संघ संस्थाहरुले पिकनिक, भ्रमणमा लग्ने समय चलिरहेको छ । पारिवारिक रुपमै घुमघामको वातावरण बन्ने समय हो, यो । हामी यात्रु हौँ ।
त्यो जिन्दगीको होस या नयाँ गन्तव्यहरुको । गन्तव्य यस्तो होस वा गन्तव्य सम्मको यात्रा यस्तो होस कि जसले यो चिसोपनालाई भुलाई दिउन, एउटा अविस्मरणिय पलको पानाहरु भरिदिउन । अनि आगामी दिनहरुमा सम्झिदै भन्न सकोस," क्या यात्रा थियो यार" ।
कुरो खासै केहि होईन । तर कुरो यही नै हो कि सिन्धुपाल्चोक जिल्लामा रहेको केहि उत्कृष्ट पर्यटकिय गन्तव्यहरुलाई चिनौँ र घुमौँ । गृह जिल्लाको नाताले सिन्धुपाल्चोकको प्राय समाचारले आफ्नो ध्यान खिच्छ नै । केहि समय अघी पढ्दै थिए, हेलम्बु - मेलम्ची क्षेत्रका सुविधा सम्पन्न विलासी होटलहरुमा पर्यटकहरुको खडेरी लागेको छ । अनि केही दिन अघी मात्रै सामाजिक संजालमा पढ्दै थिए कि हेलम्बु क्षेत्र शनिबार एकै दिन एक हजार भन्दा बढी पर्यटकहरुले भ्रमण गरे ।
त्यस पछी म पनि खोज्न थाल्छु, सिन्धुपाल्चोकमा अहिले घुम्न सकिने उत्कृष्ट गन्तव्य कुन रहेछ? यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलहरुको कमी छैन । साहसिक पर्यटकिय गतिविधीमा त सिन्धुपाल्चोक प्याकेज नै हो । आउनुस, अब केहि सुन्दर गन्तव्यहरुको बारे जानौँ ।
पाँचपोखरी
हुन त यस्तो मुटु नै छेडिने जाडो महिनामा समुन्द्र सतह देखी लगभग ४१०० मिटरको उचाईमा रहेको पाँचपोखरी पुग्न जोकोहीलाई मुस्किल पर्छ । यात्राको भोगीहरुलाई के को जाडो? के को मुस्लिक? मतलब तपाईँ साहसिक यात्राको पक्षमा हुनुहुन्छ भने चाहे जती सुकै जाडो र मौसम प्रतिकुल होस, मलाई लाग्छ एउटा असल साहसिक यात्रीको हिसाबले तपाईहरुले पाँचपोखरीलाई न्याय गर्नुपर्छ । प्राकृतिक रुपमा जुगल हिमशृङ्खलाको काखमा सजिएको छ, पाँच वटा पोखरी र छेउ मै छ , महादेवको मन्दिर । हिउँ परेको बेला सेतो घुम्टोमा लुक्छन ति पोखरी । मौसम खुलेको बेला एउटै चौरमा डुल्छन ति पोखरी ।
काठमाडौँबाट केहि नजिकैको दुरीमा रहेको ट्रेकिङ रुट पनि हो, पाँचपोखरी । यो मात्र होइन , यस क्षेत्रका रैथाने, नागी थाम, लगायतका क्षेत्र पनि उत्तिकै घुम्न लायकको गन्तव्य हो । यहाँ जनैपुर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । धार्मिक तथा साहसिक पर्यटनको लागी एउटा सदाबहार गन्तव्यको रुपमा लिन सकिन्छ, सिन्धुपाल्चोक पाँचपोखरीलाई ।
भैरव कुण्ड
जाडो महिनमा ट्रेकिङ जान उपयुक्त होला । सिन्धुपाल्चोकको ओझेलमा परेको एउटा अद्भुत गन्तव्य हो, भैरव कुण्ड । यो समुन्द्र सतह देखी लगभग ४२०० मोटरको उचाईमा छ । भैरव भगवान "शिव"को रिसाहा रुप मानिन्छ । यहाँ हरेक बर्षको जनैपुर्णिमाको दिन ठुलो मेला लाग्छ । त्यस बेला बाहेक यहाँ खासै पर्यटकहरु जादैनन । भैरव कुण्ड सिन्धुपाल्चोकको धेरै सम्भावना बोकेको तर खासै खुल्न नसकेको ट्रेकिङ रुट हो । जाडो महिनामा हिमपात हुने गर्छ, यहाँ ।
अहिले रौँ काप्ने जाडोमा जोकोही जान भने नसक्ला । तर यहाँको सुन्दरताले पक्कै शरिर भित्र नयाँ र न्यायो शक्ती पैदा गर्ने क्षमता राख्छ । बगाम गाउँ भैरव कुण्ड यात्राको आराम गर्ने स्थान हो । त्यस बाहेक ढाडे - पाङताङ - डोमोङपोखरी - डल्ले पोखरी - खानी गाउँ - चोर्मुखर्क हुँदै भैरव कुण्ड पुग्न सकिन्छ । ओझेलमा परेको पर्यटकिय गन्तव्य भएकाले विभिन्न माध्यमहरुबाट थप जानकारी लिएर जाँदा उपयुक्त हुन्छ ।
दुगुना गढि
सिन्धुपाल्चोक जिल्लाको एतिहासिक स्थान हो । साथै आन्तरिक पर्यटनको लागी एउटा सुन्दर गन्तव्य । पर्यटन प्रवर्द्धनको लागी हरेक बर्ष लिस्तिकोट दुगुना गढी ट्रेल रेस पनि संचालन गरिदै आएको हो । यो घुम्ने मौसममा दुगुना तपाईहरुको रोजाईको गन्तव्य हुन सक्छ । यसको आफ्नै इतिहास छ, यहाँ पुगेपछी त्यहाँको इतिहास पनि अवश्य नै थाहा हुने छ ।
हेलम्बु
पर्यटकहरुको लागी एउटा सदाबहार गन्तव्य हो, सिन्धुपाल्चोका स्थित ह्योल्मो भुमी हेलम्बु । यो ठाउँले पर्यटकहरुको माध्यमबाट नै समृद्धी प्राप्ती गर्न सकिन्छ भन्ने सोचका साथ विभिन्न पर्यटकिय पुर्वाधारको विकास गरिरहेको छ । हेलम्बुको लामो झोलुङ्गे पुल, हेलम्बु ग्रेट ट्रेल, मौलिक संस्कृती यहाँको आकर्षण हो । हेलम्बु सबैजनाले जुन सुकै समयमा घुम्न सकिने ठाउँ हो । भुकम्प र बाढिले थलिएको यस क्षेत्रको पर्यटकिय गतिविधी विस्तारै चहलपहल हुन थालेको खबरहरु आएको छ । हेलम्बु हुँदै रसुवाको प्रसिद्ध स्थल गोसाईँकुण्ड र लाङटाङ पुग्ने पदमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पाल्चोकी माई मन्दिर
सिन्धुपाल्चोक जिल्ला कै प्रसिद्ध धार्मिक स्थान हो, पाल्चोकी माई । यो हेलम्बु गाउँपालिकाको पाल्चोकमा अवस्थित छ । यस मन्दिरलाई जय बागेश्वरीको नामले पनि चिनिन्छ । मानिसहरु आ-आफ्नो आस्था विश्वास अनुसार यहाँ पुजाआराधाणा गर्न जाने गर्दछन । यस मन्दिरको पनि आफ्नै एउटा रोचक किबदन्ती छ । जुन त्यहाँ गए पछी अवश्य नै थाहा हुने छ । आस्था र विश्वासलाई भरिएको यस धार्मिक स्थलले तपाईलाई बदल्ने छ, अनि तपाईको समयलाई पनि । यस धार्मिक स्थललाई थप परिकृत गरी पर्यटन हब बनाउन गाउँपालिका अग्रसर देखिन्छ ।
गुफा डाँडा (मेलम्ची)
जब यहाँ प्रथम जलवायु सम्मेलन भयो, अनि गुफा डाँडा एकाएक चर्चामा छायो । यसैले जलवायु सम्मेलन स्थानले आफैलाई एउटा पर्यटकिय गन्तव्यको रुपमा उभ्याएको छ । एक दिने घुमाईको लागी यो एकदम मनोरम ठाउँ हो । यहाँबाट सुन्दर र आकर्षक हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । केहि समय अघी यहाँ मनोरन्जात्मक खेल रेस्लिङको आयोजना पनि गरिएको थियो । हिउँ पर्ने समयमा गुफाडाँडाले आफ्नो रुप फेर्छ । साच्चै सेत्ताम्मे, चाँदिले ढाकेको जस्तो ।
गौरती भिमेशेन - चौतारा - बुद्धपार्क
गौरती भिमशेन सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक एव्ं पर्यटकिय स्थल हो । सदरमुकाम चौतारा हुँदै यहाँ पुग्न सकिन्छ । कात्तिक शुक्ल पुर्णिमाको दिन विशेष मेला लाग्ने भए पनि भक्तजनहरु सदाबहार रुपमा यहाँ पुग्ने गर्दछन । यो धार्मिक स्थल केहि उच्च भुभागमा रहेकाले यहाँबाट आसपासका सुन्दर दृश्य मात्र होइन मनोरम हिमशृङ्खलाहरु पनि अवलोकन गर्न पाईन्छ ।
गौरती यात्रा कै क्रममा चौताराको माथी डाँडामा रहेको बुद्ध पार्कको अवलोकन पनि गर्न सकिन्छ ।
तौथली
सिन्धुपाल्चोक, त्रीपुरासुन्दरी गाउँपालिकामा अवस्थित एउटा सुन्दर पर्यटकिय स्थान हो, तौथली । यहाँ मनाईने दही जात्राले तौथलीलाई विशेष पहिचान दिइएको छ । त्यसमाथी यहाँ रहेको त्रीपुरासुन्दरी माईको मन्दिर, भिमशेन मन्दिर, जिप्सले बगौचाले तौथलीलाई धार्मिक सहरको रुपमा चिनाएको छ । हिउँदको समयमा यस ठाउँको केहि माथी सम्म हिउँले ढाकेको सुन्दर दृश्य देखिन्छ ।
तातोपानी
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाको एक स्थानमा प्राकृतिक रुपमै तातोपानी बग्छ । त्यो नै सिन्धुपाल्चोकको तातोपानी हो । यसको आफ्नै किबदन्ती र धार्मिक आस्था विश्वास छ । जाडो समयमा प्राकृतिक रुपमै बग्ने तातो पानीमा नुहाउन पाउनुको मज्जा नै छुट्टै छ । यहाँ स्नान गर्नाले छाला सम्बन्धी रोग निको हुने जनविश्वास छ । त्यसै क्षेत्रको भोटेकोशी नदी किनारामा निर्माण गरिएको भगवान शिवको शालिक यहाँको थप आकर्षणको केन्द्र बनेको छ ।
सुकुटे
सुकुटे परिवार वा साथी भाईहरु सँग रमाईलो गर्न जाने गन्तव्य हो । नेपालकै चर्चित मध्यको नदी किनारामा रहेको "फन डिस्टिनेशन" ले जोकोहीलाई लोभ्याएको छ । जाडो महिनामा भन्ने नदिको चिसो हावाले केहि बाधा उत्पन्न गराउन सक्छ । त्यसका बाबजुद यहाँका रिसोर्टहरुले जाडोलाई लक्षित गरी धेरै किसिमका प्याकेजहरु ल्याउने गर्छन । सुकुटेको अर्को फाइदा भोटेकोशीमा र्याफ्टिङको मज्जा लिन सक्नु हो । साथै केहि दुरीमा रहेको बन्जी अर्को आकर्षण बन्न सक्ला ।
आमा याङ्ग्री
आमा याङ्ग्री पिक पाँचपोखरी थाङपाल र हेलम्बुको सिमानामा अवस्थित एक प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हो । विशेष गरी ह्योल्मो समुदायको पवित्र भुमी यहाँ मौलिक प्रकारको आस्थाको केन्द्र छ । पछिल्लो समय आमा याङ्ग्रीमा भ्रमण गर्न जाने आन्तरिक पर्यटनको संख्या बढ्दो छ । यहाँ रहेको रिसोर्टहरुले विभिन्न प्याकेज मार्फत पर्यटकहरुलाई आमा याङ्ग्री क्षेत्र भ्रमण गराउदै आएको छ ।
विभिन्न स्रोत, अध्यायनबाट मैले थाहा पाएको सिन्धुपाल्चोकको केहि पर्यटकिय गन्तव्यहरु (जुन अहिले घुम्न सकिन्छ) चाहिँ यिनिहरु नै हुन। यस बाहेक पनि अन्य धेरै रमणिय, धुम्नै पर्ने धेरै स्थानहरु सिन्धुपाल्चोकका विभिन्न पहाडका पुछ्रार वा हिमालको काखमा लुकिरहेको छ । जसलाई अझ धेरै प्रचारप्रसारको जरुरी छ ।
(नोट: यदी तपाईँहरु लेख/रचना (कथा, कविता, गजल, अनुभव) हरु लेख्नुहुन्छ भने नमस्ते सिन्धुपाल्चोक वेबसाईटमा प्रकाशन गर्न सक्नुहुन्छ ।)