सिन्धुपाल्चोक भन्ने बित्तिकै तपाईको मनमा के चित्र आउँछ? कसैको मनमा २०७२को भूकम्पले धेरै थलिएको जिल्ला भन्ने आउँला । कसैको मनमा बर्षेनी प्राकृतिक प्रकोपले सताईरहने जिल्ला भन्ने आउँला । सिन्धुबासिको मनमा "मेरो जन्म भुमी" हो भन्ने आउँला । कसैले सोच्लान, राजधानीबाट नजिक रहेर पनि विकासका हिसाबले टाढा रहेको जिल्ला । अनि धेरैले सम्झिहाल्न सक्छ " यो त प्रसिद्ध पाँचपोखरी भएको जिल्ला हो" । व्यापारिकले सम्झिहाल्छन "तातोपानी नाका यहाँ नै पर्छ " । पर्यटकहरुले बन्जी, र्याफ्टिङ,सुकुटे सम्झेलान ।
बाँकी धेरै चित्र धेरैको मानसपटलमा आउँला नै । त्यस मध्ये जुगल हिमशृङखला पनि पक्कै सिन्धुपाल्चोक भन्ने वितिक्कै सम्झिने नामहरुमा पर्छ । सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा जुगल हिमशृङखला छ । यस हिम शृङ्खला अन्तर्गत धेरै हिमालहरु समावेश छन । जस्तै मादिया, लेन्पोघ्याङ, भैरव टाकुरा,ज्ञाल्जेन पिक, दोर्जे लाक्पा आदी । यहाँ रहेको कतिपय हिमालहरुको त नामाकरण हुनै बाँकी छ । आरोहण पर्यटनलाई केन्द्रमा राखेर योजनाबद्ध विकास गरे सिन्धुपाल्चोकमा हिमालबाटै समृद्धी सम्भव छ ।
राजधानीबाट दुरीको हिसाबले सिन्धुपाल्चोक कै हिमालहरु सबै भन्दा नजिक छ । त्यसका बाबजुत आरोहणको लागी सिन्धुपाल्चोक अझै रोजाईको गन्तव्य बन्न सकेको छैन । फट्टफुट केहि स्वदेशी तथा विदेशी आरोहिहरु बेला बेला यहाँका हिमालहरु आरोहण गर्छन । अन्य पर्यटकहरुले विभिन्न स्थानहरु बाट यहाँका हिमशृङ्खलाको दृश्य अवलोकन गरेर चित्त बुझाउँछन । हिमाल आरोहणको सम्भावना भए पनि सिन्धुपाल्चोकका हिमालहरु विभिन्न समस्याहरुले गर्दा आरोहिहरुको आकर्षणको केन्द्र खासै पर्न सकेको देखिदैन । एक त सबै चुचुरोहरु आरोहणको लागी खुलेको छैन ।
जुगल हिमशृङ्खलाका विभिन्न हिमालहरु आरोहणको लागी खुल्ने क्रम जारी
नेपाल सरकारले जुगल हिमशृङखला अन्तर्गत रहेका हिमालहरु आरोहणको लागी खुल्ने क्रम जारी छ । पछिल्लो समय ज्ञाल्जेन पिकमा आरोहणको लागी खुलेको छ । केहि दिन अघी मात्र प्रतिनिधिसभा सदस्य माधव सापकोटा, जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागको महानिर्देशक होमप्रसाद लुईटेल, गृह मन्त्रालयका उप सचिव, प्रमुख नापी अधिकृत लगायतको उपस्थितिमा बैठक गरी जुगल हिमशृङ्खलाका विभिन्न चार हिमालहरुमा नामाकरण सहित आरोहण खुल्ला गर्न पर्यटन विभाग मर्फत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको छ। सरकारले यस क्षेत्रमा आरोहण हिमालहरुको संख्या बढाउँदै जाँदा अवश्य नै हिमाल आरोहण गर्ने आन्तरिक तथा बाह्य आरोहिहरुको संख्या वृद्धी हुन्छ नै । हिमालबाट समृद्धिको बाटो तय गर्ने लुप्त उद्धेश्य स्वरुप हिमालहरु आरोहणको लागी खुलाउन पहल भएको बुझ्न सकिन्छ ।
हिमालबाट समृद्धि
हिमालबाटै समृद्धिका बाटोहरु कोर्न सकिन्छ । नेपालको वैदेशिक पर्यटनको इतिहास कोट्याउने हो भने हिमाल आरोहण बाटै सुरु भएको देखिन्छ । पहिला पहिला विदेशिहरु हिमाल आरोहण कै लागी नेपाल घुम्न आउँने गर्थ्यो । पछी विस्तारै अरु विभिन्न स्थानहरु घुम्न, पर्यटकिय गतिविधिहरुमा रमाउन आउन थालेको देखिन्छ ।
सिन्धुपाल्चोकमा पनि हिमालले समृद्धिको बाटो देखाईरहेको भान हुन्छ । आरोहणको लागी धेरै हिमालहरु हुँदाहुँदै पनि पर्वतारोहण पर्यटकहरु बारे खासै वास्ता गरेको देखिदैन । सिन्धु पर्यटन विकासको मानकको रुपमा यहाँका हिमालहरुलाई लिन सकिन्छ । सरकारले सिन्धुपाल्चोकलाई आरोहणको पर्यटकिय हबको रुपमा विकास गर्न सकिन्छ । किन भने यो राजधानी काठमाडौँबाट दुरीको हिसाबले निकै नजिक छ र काठमाडौँ झरेका विदेशी पर्यटकहरुलाई टाकुरा पुर्याउन नसके पनि हिमालहरुको बेस क्याम्प सम्म पुर्याउन सकोस ।
केहि समय अघी रसुवा क्षेत्रमा पर्ने गङ्चोम्पो हिमाल आरोहण गर्न आएका विदेशी आरोहिहरु सिन्धुपाल्चोक पाँचपोखरी रुट हुँदै गएका थिए ।
आरोही माया गुरुङ बताउनुहुन्छ, " डलर कमाउन विदेश जान पर्दैन, हाम्रो हिमालाले नै कमाउँछ ।" नेपालमा आउने धेरै पर्यटकहरी हिमाल आरोहण गर्ने मनासयले आउँछन । सिन्धुपाल्चोकको विभिन्न हिमालहरु सम्म पुग्ने रुट विकास, होटल, लगायतका पुर्वाधारहरुको विकास गरी ति पर्यटकहरुलाई यहाँका हिमाल आरोहण तर्फ आकर्षण गर्न सके यस क्षेत्रको पर्यटन विकासमा धेरै योगदान पुग्ने पक्का छ ।
विश्वका अन्य देशमा मानव निर्मित संरचना अवलोकन गर्न बर्षेनी लाखौँ लाख पर्यटक जान्छन । त्यसैबाट उनीहरुले मगन्य आम्दानी गरिरहेका छन । तर, हामिले प्राकृतिक रुपमा ठडिएको हिमालमा पर्यटक भित्र्याउन सकेका छैनौँ । सिन्धुपाल्चोक क्षेत्रका हिमालहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न थालेपछी यहाँका मानिसहरुको जिवन स्तरमा पनि धेरै सुधार आउँछ । विशेषगरी आर्थिक आर्जनमा यो अब्बल व्यावसाय हो । यस क्षेत्रमा खुल्ने होटल, लगायतकाले पर्यटन व्यवसायमा धेरै मानिसहरुलाई रोजगारीको अवसर दिने छ ।
यहाँ उत्पादित अर्गानिक उत्पादनको विश्व बजारमा व्यापार फस्टाउने छ । हिमालबाट नै समृद्धिको यात्रा दिवा सपना होईन । यसलाई प्रभावकारी रुपले योजनाबद्ध ढंगले विकास गर्न सके सम्भव छ । यसै हिमालबाट समृद्धिको यात्राको कुरालाई ध्यानमा राखेर सिन्धुपाल्चोकका विभिन्न हिमालहरु आरोहणका लागी खुलाउन स्थानिय निकाय देखी पहल हुँदै आएको छ । गाउँ गाउँमा विभिन्न रमणिय पर्यटकिय स्थल, पुर्वाधार निर्माण कार्यपनी भई रहेको देखिन्छ ।
समृद्धी सँगसँगै समस्या
हिमाललाई देखाएर आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने सपना / योजना बुनिरहँदा यसले निम्त्याउने समस्याहरुलाई नजरान्दाज गर्न हुँदैन । हामिले समय समय सुन्छौँ, फलाना हिमालबाट यती टन फोहोर संकलन गरी बेस क्याम्प ल्यायो भन्ने खबरहरु । हिमाली क्षेत्रमा बढ्दै गरेको प्रदुषणले जलवायु परिवर्तनमा तिब्र रुपले भूमिका खेलिरहेको छ । यो अझ हाम्रो लागी निकै ठुलो समस्या हुन सक्छ । तर, हिमाल आरोहण लगायत विभिन्न पर्यटकिय क्षेत्रमा नविन ढंगले फोहोर व्यवस्थापन गर्न सकिन्छ । निश्चित नियम, जरिवना, उत्प्रेरणाको माध्यमबाट फोहोर तथा प्रदुषण घटाउन सकिन्छ ।